चितवन,
जेठ १७,
नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको छ। गत आर्थिक वर्षमा टेन्डर गरिए पनि प्रक्रिया नपुगेपछि खारेज गरी पुनः चालु आवमा निर्माण प्रक्रिया अगाडि बढाइएको हो।
नेपाल–भारत पारवाहन तथा यातायात आयोजनाअन्तर्गत उक्त सडकखण्डको स्तरोन्नति थालिएको हो। योजनाका प्रमुख इञ्जिनियर शिवप्रसाद नेपालका अनुसार सो सडकखण्डलाई तीन भागमा विभाजन गरी तीन वटा कम्पनी मार्फत काम अगाडि बढाइएको हो।
भरतपुरको आँपटारीचोकदेखि १० किलोमिटर मुग्लिनतर्फ जुगेडी पुलसम्म भारतीय कम्पनी बिएलए, नेपाली श्रेष्ठ कम्पनीले जुगेडी पुलदेखि ११ किलोमिटर मुग्लिनतर्फ तथा सिमलतालसम्म भारतीय कम्पनी उडहिल र नेपाली लामा कन्ट्रक्सनले काम थालेका छन्। सिमलतालदेखि मुग्लिनसम्मको सडकखण्ड भारतीय सुप्रिम र नेपाली रौताहा कन्ट्रक्सनले टेन्डर पारेसँगै सर्भे र मर्मतसम्भारको काम थालेको छ।
कन्ट्रक्सन कम्पनीले क्याम्प निर्माण गरी उपकरणसमेत कार्यक्षेत्रमा लगिसकेको छ। सन् २०१७ को अप्रिलसम्ममा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ। विश्व बैंकको रु दुई अर्ब ८५ करोड आर्थिक सहयोगमा सडक स्तरोन्नतिको काम थालिएको हो।
सडक निर्माण गर्दा भौगोलिक बनावटअनुसारको प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ। ठेकेदार कम्पनीले सामान्य खसेका पहिरो पन्छाउने र मर्मत गर्ने कामसमेत गर्ने छन्। उक्त सडकखण्डमा रहेका १८ वटा पुल भने यो ठेक्कामा पारिएको छैन। पुलको सर्भे भइरहेको र छिट्टै टेन्डर मार्फत पुल पनि चौडा पारिने छ।
तराईबाट राजधानी प्रवेश गर्ने मुख्य सडकका रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डको गुणस्तर नराम्रो हुँदा समय समयमा सर्वसाधारणले समस्या झेल्दै आएका छन्। रासस
No comments:
Post a Comment