
दाउरा काट्दा काट्दै जंगल थरथर काप्यो । भवानसिंहलाई लाग्यो, ‘बाँदर आयो कि क्याहो ?’ फेरि सोचे, ‘हैन भएभरका रुख हल्लाउने साहस एउटा बाँदरको कहाँ होला ! एकैछिनमा पहिरो ओईरियो । ‘भुतले आज किन दिउँसै तर्सायो,कहिलेकाँही राती हिँड्दा त्यो जंगलमा बच्चा रोएको आवाज आउँथ्यो,ढुंगा हान्थ्यो आज पहिरो आयो । ला… ! सवै घरहरु भत्किसके, आज भुत हैन त्यो भन्दा ठुलै अरु केही आयो ..।’
भवानसिंह घले एकै श्वासमा घर पुगे । त्यहाँ कुनै सग्ला घर थिएनन् सारा
बारपाक खण्डहर भैसकेको थियो । ‘हत्तेरी ! भेडा के भए ? पाँचैवटा मरेछन् । न
घर, न भेडा, न अन्नपात । चक्कर लाग्यो, आँखा चिम्म पारेर देवि–देउता
सम्झिएँ,’– भवानले फेरी एकपटक वैशाख १२ मा लागेको घाउका पाप्रा कोट्याए ।
कुनै समय पहाडमाथिको लोभलाग्दो शहर बारपाक, जहाँ ब्रिटिस र भारतीय सेनामा
भर्ति हुने थुप्रै नौजवान जन्मिए । देशभर लोडसेडिङ हुँदा पनि २४ सै घण्टा
उज्यालो रहने त्यही बारपाकमा आजभोली बत्ति छैन । बत्ति नहुँदा बारपाकी
मनहरु मलिन छन्, तर अझै आशाको दीप निभेको छैन् ।

गोरखाको उत्तरी भेगमा पर्ने नमुना गाउँमा प्रकाश छर्ने लघुजलविद्युत्त आयोजनाको तारहरु प्रलयले चुडाल्दिएको महिना दिन भैसक्यो । भूकम्पले तार मात्रै चुडालेन, सुन्दर गाउँको अनुहारमा कुरुप औलाहरुले कोपरेर हिँड्यो । हात–मुख जोर्नु त छँदैछ त्यसबाहेक अहिलेको टड्कारो आवश्यकता आश्रयस्थल हो । ‘यहि डोबमा बनाउनुपर्ला’ भवान सिंहले सुस्केरा हाल्दै भने, ‘बाजेले खाँवो गाडेको धुरीको डोब छाडेर अन्त जानै मन छैन ।’ तर एउटा त्रासले उनलाई लखेटिरहेछ । ‘बारपाक मुनी आगोको भुंग्रो छ रे, त्यो ज्वालामुखी बनेर निस्कन्छ भन्छन् यो कुरा क्याहो ?,’ भवानसिंहले पंक्तिकारलाई ठूलै विज्ञ संझेर प्रश्न राखे । प्रश्नसँगै एकाएक गम्भिर भएर सोचेँ, ‘त्रासको आगो तेजिलो बन्दै गएको बेला महिना दिन धानेको धैर्यले पनि बारपाकवासीसँग अब डिभोर्स माग्न सक्छ ।’ त्रसित मनलाई थामथुम पार्न ज्वालामूखी जाँदैन भन्ने साहस जुटाउन समेत मुस्किल थियो । केवल पढेको भरमा यत्ति भने, ‘नेपालमा ज्वालामूखी चैं जाँदैन भन्छन् विज्ञहरु ।’

कालिमाया गुरुङमा त्रास उस्तै छ, वैशाख १२ को कहालीलाग्दो अनुभवमा सामान्य फरकपन । लेकमा मकैका बिरुवा ढिलो हुर्कन्छन्, भर्खर एकोहोरो गोड्ने बेला भयो । खाना खाईवरी मकैबारीमा गएर एक ट्वाक हानेसँगै अनौठो आवाज आयो, पटङटङ… ! मकैका जराहरु हल्लिन थालेपछी कालीमाया गुरुङ थचक्क बसेकी मात्र के थिइन्, घर गल्र्याम्मै ढल्यो ।
ओहो ! दुहुनो भैंसीलाई थिच्यो क्यारे ! दौडेर घरमा पुग्दा भैंसीको माँचमाथि
पूरै घर थचारिएको थियो । एक्लै घर पन्छाउने हिम्मत भएन, कलिला छोराछोरी
लुङ्गीको फेर समातेर रुन थाले, ‘मम्मी के भाको ?’ कालिमायाले उत्तर दिन
सकिनन्,आँशु थामिएन् । छोराछोरीसँगै आँगालो हालेर निकैबेर रोईन् ।
एक दशकअघि पारी भेडी गोठ पहिरोले लग्यो । त्यसपछी बारपाक सरेकी कालीमायाको
घर मुनी ठुलो भिर थियो, वर्षायाममा पहिरो जान्थ्यो । अहिले भुकम्पले
भग्नावशेष बनाएको घरमाथिको जमिनपनी हेर्नैै नसक्ने गरी फाटिएको छ । अब यसै
ठाउँमा त घर बनाउनु हुन्न । उनी मान्छे लगाएर हाँडो–भाँडो र काठ–पात पारी
सोरदह डाँडामा सार्दै छिन् । ‘सोरदहमा बनाउने भन्या हो,फेरी यहाँ
ज्वालामुखी फुट्छ भन्या छन्,यदि त्यस्तो भयो भने त बाँचिन्न होला ।’
कालिमायाका आँशु खसे । रुदैँ भनिन्, ‘दश वर्षअघि पारी भेडीगोठबाट स¥यौँ,
अहिले न वारी रह्यो न पारी ।’ उनले दशकअघि देखेको सुन्दर बारपाकको अवशेष अब
बाँकी छैन् । सपनाहरुको हत्या भएको छ ।
सुनेको थिएँ, ‘राहतको ओइरो लागेपछी बारपाकी गुरुङ र घलेहरु सवै अब पसले
भैसके ।’ तर बारपाक पुगेपछिको दृश्य फरक रह्यो । मेरो बुझाईमा
ईमान्दारीताको अर्को नाम हो, बारपाक । त्यसैले बारपाकीहरु स्वयंम आफैंलाई
झुक्याएर आनन्दित हुने खालको झुट बोल्नै सक्दैनन् । ‘चार माना चिउरा,७
पाकेट जति चाउचाउ पाइयो होला ।’ सारु गुरुङ ले भनिन् ‘चामल त्यही पाँच–छ
पाथी पाइयो ।’
माया घले ज्वालामूखीको हल्लाबाट हैरान बनिसकिन् । बारपाकको बस्ती सार्ने
सरकारी गाँईगुँई उनलाई वाहियात लागेको छ । भन्छिन्–‘गाउँ छाडेर कता सर्नु,
नहुनु भैसक्यो मरे यतै मरिन्छ ।’
घले, गुरुङ, विक र नेपालीको यो साझा फुलवारीबाट गत वैशाखको प्रलयले ६९ वटा
फुलहरु चुडेर लग्यो । धेरै कोपिलाहरु क्षतविक्षत भए,तिनका छाना त
निमिट्यान्नै पा¥यो ।
बारपाकको भग्नावशेषमा टोलाउँदै गर्दा पंक्तिकारलाई स्थानिय इतराम घलले
च्याप्पै समातेर सोधे ‘तपाई कहाँबाट आउनुभएको ?’ भने, ‘काठमाडौं ।’ उनले
पनि पनि मलाई भवानले झै विज्ञ सोचेछन्, तत्कालै प्रश्न राखे, ‘हाम्रा
डाँडा–पाखा सवैतिर ठुला–ठुला चिरा परेको छ । ज्वालामुखी फुट्छ कि फुट्दैन,
सरकारले बस्ती सार्छ कि सार्दैैन ?’…

सृजनाको मनमा आफूले स्यर्हाने गरेका भेडाका पाठाहरुको संझना आउँछ, ‘कसरी मरे होलान्, बचाउन पनि सकिएन । समयमै गएको भए फुकाउन पाइन्थ्यो ?’ कसरी भन्ने पंक्तीकारको प्रश्नमा उनले घटना यसरी सुनाईन् । ‘त्यो विहान अरु दिन जस्तै सामान्य थिएन् । जिउमा आलस्यपन बढेको थियो । उसिनेका आलुका दाना पोल्टामा हालेर जंगल पुग्दा जंगली फुलहरु खुलेर हाँसेनन् । विहान सिरसिर चिसो हावा चलेको बारपाकमा ११ बज्दा नबज्दै तातो हावाको महसुस हुन थाल्यो । आमा आज किन तातो हावा चलेको ? खानेवेलामा सृजनाले राखेको प्रश्नको प्रतिउत्तरमा गाली पाइछन् । ‘तँलाई थाहा छ,तातो र चिसो,खुरुखुरु खाएर भेडीगोठमा गैहाल,उता भेडा भोकाईसके ।’– आमाले भूकम्प आउनुअघि गरेको भनाईलाई उनी उद्धृत गर्छिन् ।
खानापछी सितिमिती दिउँसोको सुताई नसुत्ने सृजना गुरुङ त्यस दिन एकैछिन
ओछ्यानमा पल्टिईन् । घडीमा ११ बजेर पचास मिनेट गएछ । ‘१२ बजे गएर भेडा
फुकाउनुपर्ला ।’ ‘छिटो जा है,भेडा भोकाईसके ।’– आमा अझै कराउँदै थिईन् । ६
मिनेटपछि जंगलमा चराहरु चिरबिर गर्न थाले, कागहरु काँ–काँ गर्दै घुम्न थाले
। ड्याम्म आवाज आयो । ‘आमा, बम पड्केको जस्तो छ’ सृजना चिच्याउँदै घरबाहिर
निस्किइन् । बारपाकमा कोलाहल मच्चियो । सवैजना वडा नं ४ मा पर्ने हिमालय
उच्चमाविको आँगनतिर दौडिए, सृजना भेडीगोठ लागिन् । ‘दुई पाईला मात्र
हिँडेको थिएँ,फेरी वेतोडले बारपाक हल्लियो, दोस्रो धक्कामा हो, हाम्रो
बारपाक विरुप बनेको,’ सृजनाले भनिन् । पछि उनी पुग्दा न भेडीगोठ बाँकी
रह्यो, न भेडाहरु रहे । ‘सायद पहिला नै फुकाएको भए उनीहरु बाँच्ने थिए ।’
–सृजना भन्छिन् । बारपाकका धुरिहरु ढलेपछी सृजनाजस्तै थुप्रै किशोरी
भेडीगोठ गएनन्, बरु सवै गाउँले जम्मा भएतिर दगुरे ।
ठीक त्यतिबेला कागहरु रुमल्लिइरहेका थिए । बारपाकको आकाशमा अशुभको एक
मुस्लोका रुपमा उनीहरुलाई प्रत्यक्षदर्शी त्रासदीपूर्ण भावले नियाल्दै थिए ।
भिडमा कसैले भनिदियो –‘अब अर्को धक्कामा सुनान र भोक्चे डाँडा खसेर
हामीलाई पुर्नसक्छ ।’ ‘त्यसपछी हामी सौरदह डाँडातिर भाग्यौं’ औंलाले सौरदह
देखाउँदै सृजनाले भनिन् ‘त्यहाँ अलि सुरक्षित जस्तो लाग्यो,त्यो रात खाँदा
पनी खाएनौं,सुत्दा पनि सुतेनौं, शरिरमा त्रासको कम्पन जाँदाजाँदै वैशाख १३
को सूर्य उदायो ।’
मुख्य बाली कोदो, आलु र मकै फल्ने गराहरु चिरिएका थिए । बारपाक गाविसका
करिब १५ सय धुरिहरु ढलेका थिए । वर्षौदेखी विदेशमा रगत–पसिना बगाएर कमाएको
सम्पत्तीको धरोहरसँगै मनहरु फाटेका थिए । बारपाक–४ का तेज बहादुर घले
भन्छन्, ‘ साँढे सात लाख खर्चेर भर्खरै नयाँ घर बनाएको थिएँ । नयाँ घरमा एक
रात पनी सुत्न पाईन ।’ आजभोली चोखो नितो गरेर देउताको नित्य पुजामा निकै
ध्यान दिन थालेका छन् , बारपाकीवासी । ‘हाम्रो बारपाकमा ज्वालामुखीको खतरा छ
भन्छन् । तै सवैले पुजापाठ गरे रोकिन्थ्यो कि !’– तेजबहादूर भन्छन् ।
एकातिर बस्ती सार्ने हल्ला, अर्कातिर ज्वालामुखिको हावादारी तर्क बारपाकी
आकाशमा मडारिएको छ । मुख्यतः यहि दुईवटा त्रासले हरदिन पाक्दैछ बारपाक ।
अनि पाक्दैछन् भर्खरै वैशमा चढ्दै गएका सृजना गुरुङदेखी डाडाँमाथिको घाम
बनेका तेजबहादूर घले सम्मका मन ।
सम्पति ढलेर के भो !

भुकम्पको मुख्य केन्द्रविन्दु बनेको बारपाकको बिजोग शब्दमा ब्याख्या गरिसाध्ये छैन । बर्षायाम शुरु हुनै लाग्दा बारपाकमा पानी पर्ने क्रम शुरु भैसकेको छ । बारपाकीहरु त्रिपाल मुनी छन् । आजभोली बारपाक आउने र जानेको ताँतिनै लागेको छ । स्थानियलाई भुकम्प जाँदाको अनुभव सोध्नेहरु पनी उत्तिकै पुग्छन् ।
यस्तोमा बारपाकका हरेक परिवार हरेक ब्यक्तिसँग पत्र–पत्र खुल्न सक्छन् । केही विपद् पर्नासाथ राजनितीक दल र सरकारलाई गाली गर्ने नेपाली संस्कार भन्दा निकै फरक छ बारपाकी संस्कार । दर्जनौं भारतीय संचारकर्मी बारपाक पुगेर देखाएको ब्यवहार काठमाडौं बस्नेहरुले मन पराएनन् तर बारपाकबासी उनीहरुको विरोध पटक्कै गर्दैनन् । भूकम्पले बन्द गराएको सडक मार्ग खुलेसँगै नेपाली संचारकर्मीको संख्या बाक्लिन थालेको छ । त्यस्तोमा संचारकर्मीले जत्ति जिज्ञासा राखेपनी उनीहरु दिक्क मान्दैनन झन् अझै गहिराईमा पुगेर खुल्न थाल्छन् । त्रिपालमूनि खाना खाँदै गरेको एक परिवार पंक्तिकारलाई आग्रह गर्दै थिए ‘आज हाम्रैमा खाना खाऔं ।’

यहाँका स्थानीयलाई कुनै राजनीतिक दल र सरकारसँग गुनासो या आक्रोश केही छैन । ‘सवै आएर हेर्दै हुनुहुन्छ, केही न केही पक्कै गर्नुहोला’ स्थानिय सारु गुरुङले भनिन् ।
पंतिmकार स्थानिय गंगा गुरुङको घरमा पुग्दा मुलढोकासँगै ट्वाईलेट थियो ।
घरमा त्रिपाल ओढाईएको थियो । यता ट्वाईलेटको छाना र ढोका थिएन । ढोकाको
रुपमा मान्द्रो प्रयोग गर्दै आएकी गंगाले भनिन्–‘आजसम्म छानो नभएपनी चल्यो,
त्रिपाल मागेको छु दिएपछी ट्वाईलेटमा ओढाउनुपर्ला ।’ बारपाकको भग्नावशेषमा
पुग्नेहरुलाई देख्ने वित्तिकै घर खोस्रन थालेका स्थानियहरु बेपर्वाह काम
गरेर बस्दैनन्, मनभरी आत्मीयता बोकेर कुरा गर्न नजिकिन्छन् ।
नेपालका कतिपय ठाउँमा पुग्ने संचारकर्मीले फोटो खिच्दा गाली खानुपरेको तितो
यथार्थ हाम्रो सामु छ । तर बारपाकबासी क्यामेरा देखेपछी आफैँ हाँस्न
थाल्छन् । जापानमा भूकम्प गएपछि त्रासमा बसेका जनताबीच आशाको बिम्ब पेश
गर्ने क्रममा चर्चित पत्रिकाका फोटोग्राफरले एक बालकलाई आफैँ हसाँएर
फोटोसुट गरे, पत्रिका छापे र लोकप्रिय बनाए । तर बारपाकमा साना नानीहरुलाई
अभिभावक आफैँ भन्छन्, ‘उता हेर, फोटो खिचेको देखिनस् ।’ फोटो खिचीसकेपछी
आग्रह गर्छन्–‘खै हेरौं,हाम्रो फोटो कस्तो आयो !’ अझै बिजुली छैन्
बारपाकमा, तर आशाको दीप बाँकी छ । copy by ratopati


No comments:
Post a Comment