चालक भागेपछि बस खस्यो, ६ को मृत्यु
- पोखरा, फागुन २३
क्षमताभन्दा बढी यात्रु बोकेको बस नियन्त्रणबाहिर गएपछि चालकले छाडेर भाग्दा सडकबाट खस्न पुगी ६ जनाको ज्यान गएको छ । बसका ५७ यात्रु घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
कास्कीकोटको गुन्टेचौरबाट पोखरा आइरहेको ग१ख ४८४९ नम्बरको बस सराङकोटको मगरटोल गोठादीधारा पँधेरीमा अगाडिको टायर माटोमा धस्सिएर अनियन्त्रित भएपछि चालक खिलबहादुर आलेमगर सिट छाडेर भागेका थिए । लगत्तै बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।
उपचारार्थ मणिपाल अस्पताल ल्याइएपछि घाइतेमध्येका पोखरा–२६ का १६ वर्षीय विवश तिमिल्सिना, ५० वर्षीय हरिबहादुर खत्री, ४० वर्षीया गोमा लुइँटेल, ५० वर्षीय लेखबहादुर ढकाल, ३९ वर्षीया तारा थापा र कास्कीकोट–६ की ५५ वर्षीया भिमा केसीको मृत्यु भएको हो ।
प्रहरी उपरीक्षक हरिबहादुर पालका अनुसार घाइतेमध्ये मणिपाल मेडिकल कलेजमा ३८, गण्डकी मेडिकल कलेजमा ७, फिस्टेल अस्पतालमा ५ र सहारा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । सख्त घाइते पोखरा–२६ का २५ वर्षीय दिलबहादुर ढकाल, ८ महिनाका एल्भिस थापा, १८ वर्षीय सुमन थापा र कास्कीकोट–६ की सरिता खडकालाई काठमाडौं लगिएको छ ।
घटनास्थलबाट फरार उदयपुरको तावाश्री घर भई कास्कीको सार्दीखोलामा बस्ने चालक २७ वर्षीय खिलबहादुर आलेमगर दिउँसो आफैं आएर प्रहरीमा आत्मसमर्पण गरेका छन् । अगाडिको टायर धस्सिएपछि आफू भागेको चालकले बयान दिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment