दुखद समाचार एकै परिवारका छ जनाको मृत्यु...

विषाक्त पिठोको रोटी खाँदा पीडा–८, पुकुनगाउँ, धादिङका सन्जबहादुर तामाङ (स्याङ्तान) सहित एकै परिवारका ६ जनाको सोमबार ज्यान गएको छ। बिरामी १६ जनाको राजधानीस्थित दुई अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार तीमध्ये ६ जना सिकिस्त छन्।
मृत्यु हुनेमा सन्जबहादुरकी बुहारी फूलमाया (२८ वर्ष), नाति–नातिना अर्जुन (५), सुमित्रा (७), अनिता (२) र रमेश (५) छन्।

घून–किराबाट जोगाउन विषादी हालेर बीउका लागि राखिएको गहुँ पिँधेर बिहानै रोटी पकाएर खाएको केही बेरमै विपन्न सन्जबहादुरसहित परिवारका सबै सदस्य बिरामी परेका थिए।

अस्पताल जान हिँडेका उनीहरूमध्ये सन्जबहादुर, फूलमाया र अनिताको राजमार्ग आइनपुग्दै किरान्चोक–९, डाँडागाउँमा, एक जनाको राजमार्ग र दुई जनाको ललितपुर, धोविघाटस्थित मेघा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। उनका अनुसार बिरामी सबै सन्जबहादुरका परिवार र छिमेकी हुन्।

बिरामीमध्ये ११ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल र ४ जनाको बल्खुस्थित शिवज्योति अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न मनमोहनकी चिकित्सक डा. रोशनी शाहीका अनुसार गम्भीर अवस्थाका ६ जनाको आइसियु र अन्य ५ जनाको 'हाई केयर वार्ड' मा उपचार भइरहेको छ।

'रगतमा कडा किसिमको विषादीको मात्रा देखिएको छ,' शाहीले नागरिकसँग भनिन्, 'पूर्ण रिपोर्ट आउन बाँकी छ।' चिकित्सकका अनुसार शिवज्योतिमा उपचार गराइरहेका खतरामुक्त छन्।

धादिङ जिल्ला जनस्वास्थ्य प्रमुख सुमन मल्लले बिरामीले कडा खालको प्रतिबन्धित विषादीयुक्त खाना खाएको पुष्टि भएको बताए। 'घटनास्थलमा थायोडिनको बोतल भेटियो,' गाउँमै शव कुरेर बसेका उनले नागरिकसँग भने, 'सरकारले गत भदौमा मात्र प्रतिबन्ध लगाएको थायोडिन कडा किसिमको विषादी हो।'
- See more at: http://nagariknews.com/main-story/story/34415.html#sthash.bhSe8kJ9.dpuf

No comments:

Post a Comment