चितवनमा चारजनालाई स्वाइन फ्लु
२०७१ फागुन १४ गते
BDC
(चितवन)-छिमेकी मुलुक भारतमा स्वाइनफ्लुको माहामारी फैलिरहेका बेला सिमाना जोडिएको नेपालको चितवनमा चारजनामा स्वाइनफ्लुको सङ्क्रमण भएको फेला परेको छ ।
चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु ‘इन्फुल्न्जा ए, एचवान एनवान’ को सङ्क्रमण रहेको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ ।
माघ यता इपिडिमियोलोजी महाशाखा काठमाडौँमा पठाइएका ४३ वटा नमुना परीक्षणमा चारजनाका स्वाइनफ्लु रहेको पुष्टि भएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।
भरतपुर अस्पतालस्थित ल्यावमा रेपिट टेस्ट (नाकबाट लिइने परीक्षण) गर्दा पोजेटिभ पाइएका ४३ जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकुमा पिसिआर परीक्षणका लागि पठाइएको थियो ।
चार जनामा ‘स्वाइन फ्लु’ भेटिएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको केसीले जानकारी दिए । ती बिरामीले केहीले औषधि सेवन गरिरहेका छन् भने एकजना निको भएर फर्केको अस्पतालले जानकारी दिएको छ । चितवनमा ‘स्वाइन फ्लु’ भित्रिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोकथामका लागि उच्च सतर्कता अपनाएको छ ।
भरतपुर अस्पतालमा स्वाइनफ्लुको कडा सङ्क्रमण भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहितको छुट्टै वार्ड स्थापना गरिएको अस्पतालले जनाएको छ । रासस
No comments:
Post a Comment