सगरमाथा आरोहणको रुट परिवर्तन

काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट परिवर्तन गर्ने भएको छ। गत वर्षको वैशाख ५ गते सगरमाथा आधारशिविरमा गएको भीषण हिउँपहिरोमा १६ जनाले ज्यान गुमाएपछि यो वर्षदेखि रुट परिवर्तन गर्न लागिएको हो। सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले सरकार र व्यवसायीबीच सहमति भई रुट परिवर्तनका लागि काम सुरु गरिएको जानकारी दिए। गत वर्ष हिउँपहिरोमा परेर ज्यान गएको बाटो यो वर्ष प्रयोग नगर्ने र नयाँ रुट खोल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, आरोही संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिसहितका सरोकारवाला निकायबीच सहमति भएकोअन्नपूर्ण पोस्टमा खबर छ। सरकोकारवाला निकायको सहमतिपश्चात् सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जी शेर्पाको समूहले नयाँ रुट बनाउन सुरु गरिसकेको छ। नयाँ रुट विगत दुई वर्षदेखि प्रयोग भइरहेको रुटको तुलनामा दुई घन्टा लामो हुने आरोही संघले जानकारी दिएको छ। गत वर्ष गएको हिउँपहिरोमा ठूलो मानवीय क्षति भएकोले यो वर्षदेखि नयाँ रुट पहिचान गर्न लागिएको हो। यो नयाँ रुट विगतमा पनि प्रयोगमा थियो। तर, यो लामो भएकाले विगत दुई वर्षदेखि प्रयोगमा थिएन। अन्य रुटका तुलनामा यो रुट सुरक्षित छ। हाल प्रयोगमा रहेको रुट तुलनात्मक रूपमा छोटो भए पनि हिउँपहिरो आउँदा भने जोखिम बढी हुने भएकोले ठूलो मानवीय क्षति सहनु परेको संघका अध्यक्ष शेर्पाले बताए। आरोही संघका अनुसार अघिल्ला वर्षहरूमा सगरमाथा आधारशिविरबाट उकालो लागेपछि पार गर्नुपर्ने चारवटा क्याम्पमा छुट्टाछुट्टै टोलीले बाटो बनाउने गरेको थियो। गत वर्ष सगरमाथा आरोहणको बाटो बनाउने क्रममा नै क्याम्प दुईमा झडपसमेत भएकोले यो वर्ष एउटै टिमलाई बाटो बनाउने जिम्मा दिएको छ। एउटा टिमले जिम्मा पाएपछि उसैले बाटो बनाउने र चारवटै क्याम्पमा एउटै समूहले काम गर्ने भएपछि विवाद नहुने बुझाइ शेर्पाको छ। यो वर्ष प्रयोग गर्न लागिएको नयाँ रुटमा केही गरी हिउँपहिरो आइहाले पनि गत वर्षको तुलनामा कम क्षति हुन्छ। गत वर्ष हिउँपहिरो गएको बाटोमा बढी जोखिम रहेका कारण नयाँ रुट आवश्यक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। खुम्बु आईसफलको जोखिमपूर्ण बाटो परिवर्तन गरेर सहज बनाउन खोजिएको जानकारी सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष शेर्पाले बीबीसीलाई दिएका छन्। सगरमाथा आधारशिविरबाट चौथौ क्याम्पसम्म नै नयाँ रुट हुने आरोही संघका अध्यक्ष शेर्पाले जानकारी दिए। हरेक सिजनमा एउटा भरियाले ३० देखि ४० पटक खुम्बु आइसफलको यो रुट प्रयोग गर्ने भएकोले नयाँ रुट प्रयोग हुनु सामान्य नभएको उल्लेख छ। आगामी एक महिनापछि सगरमाथा आरोहणको सिजन सुरु हुन्छ। हरेक वर्ष सगरमाथा आरोहण गर्ने समूह बढ्दै जाने गरेका छन्। मे महिना सगरमाथा आरोणको सबैभन्दा उपयुक्त सिजन हो। यो एक महिनामा मात्रै करीब ३० देखि ३५ वटा टोलीले सगरमाथा आरोहण गर्ने गरेका छन्।

No comments:

Post a Comment