आज ६५ औं प्रजातन्त्र दिवसराष्ट्रपति,
प्रधानमन्त्री तथा अन्य दलका नेताहरुबाट शुभकामना व्यक्त
फागुन ७–
आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ।
दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा आइतबार विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ।
दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
सन्देशमा राष्ट्रपति यादवले २००७ सालमा प्राप्त प्रजातन्त्रको जगलाई अझै मजवुत पार्न पुनः २०४६ सालमा सम्पूर्ण नेपाली लागिपरेको बताउँदै बदलिँदो परिवेशमा लोकचाहनालाई सम्बोधन गर्न विसं २०६२÷६३ को आन्दोलनमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताएका छन् ।
राष्ट्रपति यादवले २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट जनताले आफ्नो संविधान आफैँ बनाउन विगतदेखि राखेको आकाङ्क्षा पूरा भए पनि संविधान प्राप्त गर्ने कुरामा आशावादी हुँदाहँुदै पनि संविधानसभा भङ्ग हुन पुगेको उल्लेख गर्दै पुनः भएको दोस्रो संविधानसभाले पनि गत माघ ८ गते सङ्घीय र समावेशी चरित्रको संविधान निर्माण गर्ने लक्ष्यमा अल्मलिन पुगेको बताएका छन् ।
उनले प्रजातन्त्रका लागि ज्यानबाजी लगाउने सहिदप्रति श्रद्धाञ्जलि एवम् नेपाली जनताका लागि चिरस्थायी उपहारका रूपमा हामी सबै मिलेर नयाँ लोकतान्त्रिक संविधान सकेसम्म चाँडो जारी गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, उपरराष्ट्रपति परमानन्द झाले प्रजातन्त्र दिवसको अवसरमा २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले राणा निरङ्कुश जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित रहेको उल्लेख गरेका छन् । वास्तवमा यो महान दिन नेपालमा युगान्तकारी परिवर्तनको यात्राको शुभारम्भको दिन पनि भएको उनले उल्लेख गरेका छन् ।
यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले आज एक सन्देशमार्फत ६५आँै प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले जहाँनिया, तानाशाही र एकतन्त्री शासनबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवस–२०७१ को अवसरमा सबै नेपालीलाई हार्दिक बधाई दिदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ को जनआन्दोलन, मधेश आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्वान्जली अर्पण गरेका छन् ।
साथै घाइते भएका ज्यूदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवार र लोकतन्त्रको प्राप्तीको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको प्रधानमन्त्रीद्धारा जारी सन्देशमा जनाईएको छ ।
“लोकतन्त्रको स्थापना र जनताको हक अधिकारका लागि हामीले अहिलेसम्म गरेका संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई परिणाममा पु¥याउन म संविधानसभामा रहेको र संविधानसभा भन्दा बाहिरका राजनीतिक दलसँग अपिल गर्दछु” प्रधानमन्त्री कोइरालाद्वारा जारी सन्देशमा भनिएको छ ।
उनले संविधान निर्माण सहित मुलुकका सामु रहेका सबै समस्याहरूको निराकरण आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै गर्न सकिने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सहिदका सपना र जनताका आकांक्षा पुरा गर्न प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
No comments:
Post a Comment