चितवन : श्रीमान् र श्रीमती भएर लजमा बस्दै हुनुहुन्छ भने विचार गर्नुहोस् है, प्रहरीले सताउला। नारायणगढ र भरतपुरका विभिन्न लजबाट प्रहरीले शनिबार दिउँसो पाँच जोडी लोग्नेस्वास्नीलाई नियन्त्रणमा लिएर अनावश्यक सास्ती दिएको छ।
अवैध यौन क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले नारायणगढ र भरतपुरको विभिन्न स्थानबाट दश जना होटल संचालक तथा अन्य ३९ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले नारायणगढको पुल्चोक, न्यूरोड, पोखरा बसपार्क, पारस बसपार्क क्षेत्रका होटल, लज तथा रेस्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
१७ महिला र १२ जना पुरुष यौनजन्य कार्य गरिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिए। नियन्त्रणमा लिएकामध्ये पाँच जोडी भने श्रीमान् र श्रीमतीको जोडी भएको पुष्टि भएपछि छाडिएको उनले बताए।
प्रहरीले नियन्त्रणमा लिएकाहरू १६ देखि ५५ बर्षसम्मका छन्। होटल, लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता बनाए पनि त्यसको पालना नगरेको प्रहरीको दाबी छ। भरतपुर र नारायणगढ क्षेत्रमा झन्डै दुई सय ५० होटल, लज तथा रेस्टुरेण्ट सञ्चालनमा छन्।
प्रहरीलाई शंका लागेमा होटलमै प्रारम्भिक अनुसन्धान गर्नुपर्ने भन्दै होटल व्यवसायीले माग गर्दै आएपनि प्रहरीले सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो।
होटल व्यवसायीले श्रीमान् र श्रीमतीलाई समेत त्यसरी नियन्त्रणमा लिँदा चितवनको पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताएका छन्।
No comments:
Post a Comment