दोलखा– सोमबार परेको चट्याङले दोलखाको पश्चिमी गाउँ मागापौवास्थित आफ्नै घरमा बसिरहेका नातीनी र बज्यैको मृत्यु भएको छ।
सोमबार दिउँसो १२ बजे परेको चट्याङबाट मागापौवा गाविस ४ माथिल्लो गाउँकी ६९ वर्षीया साहिली तमाङ र उनकी ११ वर्षीया नातिनी फूलमाया तमाङको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।साहिली र उनकी नातिनी घरमै बसेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार बिहानैदेखी पानी परेपछि मृतक नातिनी बज्यै मात्र घरमा थिए। प्रहरीका अनुसार घटनाको समयमा मृतक साहिलीका छोरा र अर्का २ नाती दिउँसो काममा गएका थिए। मध्यान्हको समयमा घरमा चट्याङ लागेर मृत्यु भएका उनीहरु मृत्यु भएको खबर दिउसो ३ बजे मात्र गाउँलेले थाहा पाएपछि प्रहरीलाई टेलिफोनबाट खबर गरेका थिए।
यस्तै सोमबारकै चट्याङले जिल्लाकै मेलुङ गाउँमा ३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर मेलुङ गाविस वडा नं ४ की ४५ वर्षीया मैया खड्का र उनकी छोरी ९ बर्षकी सरला खड्का र डाँडाखर्क ३ का ३५ वर्र्षीया गोमा खड्का घाईते भएको प्रजिअ लामिछानेले जानकारी दिए। गोमा आफन्तलाई भेट्न मैयाको घरमा आएकी थिइन्। उनीहरुको दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामय रहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment