प्रेम कस्तो हुन्छ ?

    प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैं दिनरात साथ नछोड्ने मनको प्रिय मीतझैं हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम हारेर पनि जितिने एउटा महान जितझैं ।
०००
>>

प्रेम गरेर केही भागूँ, म भिखारी बन्न चाहन्नँ सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्नँ समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।
 ०००
 प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन ठूलोसानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन ए ! नसाले बेहोस बनी प्रेमको कुरा गर्नेहरू ! म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।
०००
 प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैं चरित्रले बेदाग मानौं सुनकेशरी रानीझैं शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैं ।
०००
 प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न ए ! नक्कली प्रेमको कुरा गरी आफैंलाई भुलाउनेहरू बिना आस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।
०००
कसैलाई माया गरी म धर्तीलाई माया गरिरहन्छु तनभरि र मनभरि म विश्वासहरू भरिरहन्छु चाहे प्रेमी भन वा पागल भन, मेरो केही भन्नु छैन म हर्दम प्रेमपत्र सम्झी सिर्जनाहरू छरिरहन्छु

 >>

>>

 प्रेम तपस्या हो स्व: परीक्षामा बस्नुपर्छ कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ घृणाको यो दुनियाँमा प्रेम गर्छु भनी ठान्छौ भने अरूका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।
 ०००
 प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन् ढुंगामाटो कणकणमा आत्मा बनी रहिरहन्छन् चाहे दुनियाँले मानोस् वा मान्न इन्कार गरोस् प्रेमीहरू नबोलिकन चरित्रले केही कहिरन्छन् ।

 ०००
 यस्तो दिन आओस् यहाँ, मायैमायाको वास होस् रिस, द्वेष, घृणाहरू सबै सबैको नाश होस् मानवताको अंश भई म यस्तो सपना देखिरहेछु मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।
०००
 मान्छेहरू मनभित्र प्रेमको खोला बगाई हेर हृदयको चेतनाले आफैंलाई जगाई हेर युगयुग सभ्यताका रातहरू कति आए चुकजस्तो अन्धकारलाई अब पूरै भगाई हेर ।
 ०००
 जब मनमा प्रेम हुन्छ प्रेमभन्दा ठूलो केही लाग्दैन हरेक क्षण प्रेम गरिरहूँ भावना अरु केही जाग्दैन घामछायाँ जिन्दगीका मूल्यहरू धेरै होलान् साँचो भन्छु, प्रेमले यहाँ मूल्य भन्नु केही माग्दैन ।
 ०००
 जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन बसेपछि मनमा त्यसले सौम्यताको सीमा नाघ्दैन जिन्दगीको प्रत्येक मोड ढुकढुकीहरूले भन्छन् यहाँ प्रेम यस्तो बहार हो जुन आई फेरि कतै भाग्दैन ।
 ०००
 प्रेम हुन्छ कसरी यहाँ ? प्रेमी मनले बोल्न सक्दैन ढुकढुकीको भाखा मीठो, प्रेमी मनले खोल्न सक्दैन हृदयको कुरालाई हृदयमै राख्नु जाती प्रेम गरी जहर यहाँ, प्रेमी मनले घोल्न सक्दैन ।
०००
 जब प्रेम हुन्छ मनमा, काँढाहरू पनि फुल्न थाल्छन् मनमा बन्द आकाशहरू एकएक गरी खुल्न थाल्छन् मान्छेको यो दुनियाँका रंगहरू धेरै होलान् प्रेम गरे जिन्दगीका रंगहरू सबै खुल्न थाल्छन् ।
०००
 बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ जिन्दगीको मूल्य खोज्दै बाहिर किन भौंतारिनु प्रेम भए आफैंभित्र दिव्य-अमोल ताज छ ।
 ०००
 प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि मृत्युञ्जयी भई म प्रत्येक क्षण जिइरहन्छु ।     
 ०००
 साँचो प्रेम गर मातहरू सबै हटेर जान्छन् जस्तो सखारपछि अँधेरी सबै कटेर जान्छन् म सत्य भन्छु प्रेम यति पवित्र हुन्छ कि यसको साथ पाए पापहरू आफैं घटेर जान्छन् ।
                 
 भन्नेहरू भनिदिन्छन् प्रेम भावनाको भेल मात्रै अनायासै बाँधिदिने हडतकडी र नेल मात्रै साँचो प्रेम गर्नेहरू कहिले पनि मान्दैनन् यो प्रेम भन्नु भोग्नुपर्ने अभिशापको जेल मात्रै ।
 ०००
 घृणाले पागल हुनुभन्दा प्रेमले पागल हुनु जाती हरेक क्षण ढुकढुकीमा प्रेमको दु:ख छुनु जाती दु:खहरू छन् दुनियाँमा, बुद्धहरू यसै भन्छन् बिर्सेर प्रेमले आफैंलाई अरुका लागि रुनु जाती ।
 ०००
 प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु तिनका नजरमा सायद कसिंगरजस्तो बन्दै हिँड्छु समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन् तर मनले नहारी धर्तीमा असङ्ख्य आशा गन्दै हिँड्छु ।
 ०००
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।
 ०००
 जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ जीउमा भए बन्धन कतै, एकएक गरी छोडिन्छ ए ! रूपका बजारमा आफैंलाई बेची हिँड्नेहरू ! प्रेममा संक्रान्ति भई जीवनको बाटो मोडिन्छ ।
०००
 प्रेम तनले तनलाई होइन मनले मनलाई गर्नुपर्छ एकअर्काका अस्तित्वमा अस्तित्व पूरै भर्नुपर्छ धर्तीमा जन्मेका महान् प्रेम-पथिकहरूलाई सोधी हेर अदम्य भावमा लिई प्रेममा बाधाहरू सबै हर्नुपर्छ ।
०००
शरीर नासिन्छ तर प्रेम कहिले पनि नासिन्न समयको भासमा परी प्रेम कहिले पनि भासिन्न मान्छेहरू बुझिहेर जीवन क्षणिक भए पनि अजम्बरी हुन्छ प्रेम कहिले पनि मासिन्न ।
०००
 प्रेम कतै गहिरिन्छ, प्रेम कतै अग्लिन्छ प्रेम कतै हिउँपानीको खोलीझैं सग्लिन्छ उत्सर्ग र बलिदानको भाषामा भन्दा प्रेम अरूलाई उज्यालो दिई आफू मोमबत्तीझैं पग्लिन्छ ।
 ०००
 प्रेम प्रेम हो, यौनको अर्काे पाटो होइन कुण्ठा, भडाँस अनि विकृतिको साटो होइन कठमुल्लाहरू प्रेमको विरोधमा जे बोलून् प्रेम सिर्जना हो, विध्वंसको कुनै बाटो होइन ।
 ००० 

होसियार, प्रेमको नाममा ठगीहरू कति चल्दो छ दुष्ट-कुटिल मनभित्र षड्यन्त्रहरू कति बल्दो छ कहिलेकाहीँ पवित्र प्रेममा चोटपटक लाग्यो भने नसम्झनु घोर निराशामा, प्रेमको युग यहाँ ढल्दो छ ।
 ०००
 माया गर्नुभन्दा धेरै मान्छेहरू मायाको बात मारिरहन्छन् ठूलाठूला पर्खाल ठड्याएर मान्छेहरू मायालाई बारिरहन्छन् मानवताको इतिहासको यो सबैभन्दा ठूलो दुर्भाग्य हो कि हृदयले निर्धन भई मान्छेहरू, आफंैसित हारिरहन्छन् ।
 ०००
 प्रेम पूजा हो, आराधना हो, प्रेमभन्दा ठूलो प्राप्ति छैन महानता र विशालतामा प्रेमभन्दा ठूलो व्याप्ति छैन नश्वरताका नियमहरू दुनियाँमा धेरै होलान् तर प्रेम यस्तो सत्व हो, जसको जन्म छ कुनै समाप्ति छैन ।

No comments:

Post a Comment