धादिङ-नदी तर्ने झोलुङ्गे पुल नहुँदा बिना सुरक्षा ट्युबमा बसेर दिनहुँ जोखिमपुर्ण त्रिशुली नदी वारपार गर्दै विद्यालय जाने गोरखा भुम्लिचोक–८ हुइलिङबेसीका बालिकालाई सुरक्षित यात्राका लागि सहज हुने विग रिभर ट्युव (बोटिङ ट्युव) सेटसहित सोलार र शैक्षिक सामाग्री सहयोग गरिएको छ।
नागरिक, रिपब्लिका दैनिक र नागरिकन्युजमा जोखिमयुक्त यात्रा गरेर विद्यालय जान बाध्य बालिकाहरु बारे समाचार छापिएपछि उनीहरुको समस्यालाई सम्बोधन गर्दै विभिन्न व्यक्ति र संस्थाहरुले करिब ८० हजार बराबरको अत्यावस्यकिय सामाग्री प्रदान गरेका हुन्।
लामो समयदेखि नेपाल बस्दै आएकी अष्ट्रेलियन नागरिक लिण्डेल केइन र ट्रिनिटी कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुको समुह सहयोगका लागि त्रिशुली आएका थिए। उनीहरुलाई पहिलो पाइला नामक संस्थाका तर्फबाट याङ्ला नाओमी र फिल्म निर्माता एवं कलाकार अमित ढुंगाना संयुक्त रुपमा विग रिभर ट्युब, प्याडल, वाटरप्रुफ व्याग बालिकाहरुलाई त्रिशुली किनारमै पुगेर सहयोग गरेका हुन्।
त्यसैगरी मस्टो आउट डोर्सका रमेश कुँवरले एक सेट पम्प, धादिङ घर भई काठमाडौंमा आउटडोर हिमालयन ट्रेक्समा कार्यरत बद्री अर्यालले दुई थान लाइफ ज्याकेट उपलब्ध गराएका छन्। धादिङ कुम्पुर– आदमटार घर भई काठमाडौंमा क्यारियर इन्टरनेशनल सर्भिसका (म्यानपावर व्यवसायी) प्रबन्ध निर्देशक श्यामचन्द्र खतिवडाले चार घरका निम्ति २० वाट क्षमताका चार सेट सोलार बत्ति उपलब्ध गराएका छन्।
साथै, पुल्चको इञ्जिनियरिङ क्याम्पसका भिजिटिङ प्रोफेसर जगन्नाथ श्रेष्ठले दुई थान सोलार ल्याम्प उपलव्ध गराएका छन्। सिड्स धादिङको तर्फबाट कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक गंगा सुवेदी र पूर्व उपाध्यक्ष रामचन्द्र रुपाखेतीले बालिकाहरुलाई एक वर्षलाई पुग्ने शैक्षिक सामाग्री र स्कुल ड्रेस त्रिशुली किनारमै पुगेर हस्तान्तरण गरेका छन्।
लिण्डेलले आफ्नो जन्म दिनको उपलक्ष्यमा घोषणा गरेको अभियानममा सहयोगका लागि पहिलो पाइलाले साथ दिएको थियो। दिनहुँ विना लाइफ ज्याकेट नदी तर्दा ट्युव पल्टिएर हुनसक्ने जोखिमबाट बचाउन अभियान चलाएको लिण्डेलले बताइन्। विद्यार्थीहरुको सहयोगका लागि पहिलो पाइलाले काठमाडौंको बौद्धलगायतका स्थानमा ह्याण्डि क्राफ्ट, कुकिज, पानी पुरीलगायतका सामाग्री बेचेर अभियानबाट रकम संकलन गरी सहयोग गरिएको याङ्लाले बताइन्। उनले भनिन् हामी जस्तै स्कुल जाने साथीहरुको यो दुःख देखेर हामीले स्वयंसेवी भावले अभियान चलाएर सहयोग गर्न पाएकामा खुसी लागेको छ।
कलाकार एवं फिल्म निर्माता अमित ढुंगानाले छोरीको ग्राजुएसनमा अमेरीका जाँदा समाचार पढेपछि नेपाल फर्केर सहयोग गर्न आएको बताए। उनले भने, ‘काठमाडौंबाट यति नजिकमा पनि यस्तो समस्या छ भन्ने थाहा पाएपछि सहयोग गर्ने रुची जागेर आयो। हामी सबै मिलेर अभियान थाल्यौं भने यहाँ पुल निर्माण पनि गर्न सक्छौं तर पहिले बालिका जोगाऔं अनि अन्य अभियान सञ्चालन गरौंला भनेर पहिलो प्रयत्न गरेको बताए।’
चार घर मात्र भएको हुइलिङबेसीको चेपाङ बस्तिमा हालसम्म राज्यको कुनै पनि सेवा सुविधा पुगेको छैन। पृथ्वी राजमार्गबाट पारी पट्टी रहेको सो स्थानमा हालसम्म टुकी बालेरै घर उज्यालो बनाउँदै आएका सिमान्तकृत आदिवासी जनजाती चेपाङ समुदायका चार घरलाई सोलार बत्तिको सेट उपलब्ध गराएका श्यामचन्द्र खतिवडाले आफ्नो खाजा कटाएर गरेको बचतले उनीहरुको घर उज्यालो बनाउन पाएकामा खुसी लागेको बताए।
धादिङमा गैरसरकारी संस्था मार्फत सामाजिक काम गर्दै आएका सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले यस्तो सकसपुर्ण यात्रा गरेर पनि नियमित विद्यालय जाने बालिकाहरुलाई हौसला प्रदान गर्न शैक्षिक सामाग्री र स्कुल ड्रेस उपलव्ध गराएको बताए।
तुइन र जोलुङ्गे पुल नजिक नहुँदा धादिङको मझिमटारमा रहेको शंखादेवी उच्च माविमा पढ्न आउँदा नियमित रुपमा विना सुरक्षा ट्युवमा यात्रा गर्दै आएका सरिता र राममाया चेपाङलाई अमेरिका बस्दै आएकी माला महते पनि दुई थान लाइफ ज्योकट उपलव्ध गराएकी थिइन्। विग रिभर ट्युव, सहित सोलार र शैक्षिक सामाग्री पाएपछि खुसी देखिएका उनीहरुले हर्षका आँसु झार्दै दाताहरुलाई धन्यवाद दिए।
पटक-पटक ट्युवको हावा कम भएर र पल्टिएर पनि बाचेका उनीहरु अब भने विगतको समस्या नआउनेमा ढुक्क देखिन्थे। वारी-पारी गर्न सुरक्षित ट्युव र लाइफ ज्याकेट भएपछि पल्टिए पनि आफु जोगिन सक्ने बताए।
छोरीहरुलाई नदी तर्न आधुनिक ट्युवसहित सुरक्षित सामाग्री र शैक्षिक सामाग्री अनि अँध्यारोमा बस्नु पर्ने समस्याबाट मुक्ति मिलेकोमा सरिताका बाबु विष्ण चेपाङ हर्षित देखिन्थे। उनले सरकारले बेवास्ता गर्दै आएको ठाउँमा यतिधेरै सामाग्री पाएकामा दंग भएको बताए। दाताहरु त्रिशुली किनारमा पुगेपछि सपरिवार आएका विष्णुले झोलुङ्गे पुल तर्ने सपना देखेको बताए। उनले भने, ‘अँध्यारोमा थियौं घर उज्यालो भयो। छोरीहरु स्कुल पुगेर फर्कन्छन् कि फर्कन्न् भन्ने चिन्ता थियो आज अस्थाई रुपमै भएपनि समाधान भएकामा खुसी छौं।’
समाचार प्रकाशित भएपछि विभिन्न व्यक्ति र निकायले तुइन र पुल निर्माण गर्ने चासो व्यक्त गरेका छन्। हाल जोखिमै नदी वारपार गर्ने चार घर भएपनि सो स्थानमा पुल निर्माण गर्न सकिए दुईसय घर परिवारले लाभ लिन सक्ने नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ बताउँछन्। copy by #nagariknews
No comments:
Post a Comment