गिनिजले त पत्यायाे ! के अब पत्याउलान् त दर्शकले साैगातलार्इ ?

Ktm- विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएपछि एकाएक चर्चित बनेका ‘लभ यू बाबा’का निर्देशक सौगात बिष्टले आफूलाई दर्शकले नपत्याए पनि विश्वले पत्याएकाे बताएका छन् । शुक्रबार राजधानीमा आयोजित वधाई ज्ञापन कार्यक्रममा सौगातले भने, ‘नेपाली दर्शकले मेरो फिल्म हेरिदिनु भएन । सायद म बालकले कस्तो फिल्म बनाउला र भन्ने उहाँहरुलाई लागेको होला । तर, म खुशी छु गिनिज बुकले मलाई पत्यायो ।’ ७ वर्ष ३४० दिनको उमेरमा ‘लभ यु बाबा’ निर्देशन गरेका सौगातले यसअघि भारतका कृष्ण श्रीकान्तले नौ वर्षको उमेरमा राखेको कीर्तिमानलाई उछिन्दै गिनिजमा नाम लेखाएका हुन् । कन्नडका श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ शीर्षकको फिल्म बनाएर गिनिजमा रेकर्ड कायम गरेका थिए । सौगातले अब फेरि फिल्म हलमा चलाउने र सबैले हेरिदिने आशा व्यक्त गरे । त्यस्तै कार्यक्रममा सौगातले गिनिजले दिएको औपचारिकतासँग थप जिम्मेवारी बढेको अनभूति भएको बताए । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले सौगातलाई गिनिज बुकको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सौगातको फिल्म फेरि हलमा चलाउने वातावरण बनाउन आफूले पनि सक्दो सहयोग गर्ने बताए । सौगातले नेपालकै नाम राखेको मन्त्रीले बधाई दिएका थिए । सौगातका बुबा तथा ‘लभ यू बाबा’का कलाकार गजित बिष्टले छोराले फिल्म बनाउँदा आलोचना गर्नेहरु धेरै भएपनि उसले पाएको सफलताले सबै कुरा प्रमाणित गरिदिएको बताए । कलाकार तथा सौगातकी दिदी संगम बिष्टले भाइको खुशीमा आफू पनि खुशी भएको बताइन् । सौगातले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ गत मंसिर २६ मा प्रदर्शनमा आएको थियो । फिल्ममा गजित बिष्ट, संगम बिष्ट, अशिष्मा नकर्मी, निष्मा घिमिरे लगायतका कलाकारकाे अभिनय रहेको थियो ।

No comments:

Post a Comment